जनजागृती माविमा विज्ञान प्रदर्शनी २०८३ सम्पन्न ‘जिज्ञासाले नै सिर्जनशीलता जगाउँछ’ भन्ने सन्देश प्रवाह

शेयर गर्नुहोस्

सोलुखुम्बु- सामुदायिक विद्यालयमा विज्ञान विषयको प्रवर्धन गर्ने उद्देश्यले जनजागृती माध्यमिक विद्यालयमा ‘जिज्ञासाले नै सिर्जनशीलता जगाउँछ’ भन्ने नाराका साथ विज्ञान प्रदर्शनी २०८३ आयोजना गरिएको छ। विद्यार्थीहरूमा वैज्ञानिक सोच, खोजमूलक क्षमता र सिर्जनशीलताको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा विज्ञान तथा प्रविधिसम्बन्धी विभिन्न सामग्रीहरू प्रदर्शन गरिएको थियो।

कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाको प्रमुख आतिथ्यता तथा सोलुदुधकुण्ड नगरपालिका उपप्रमुख गान्धिमाया तामाङको विशेष आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष मिङमार तामाङले गर्नुभएको थियो।

प्रदर्शनीमा विद्यार्थीहरूले तयार पारेका विज्ञान र प्रविधिसम्बन्धी ४६ वटा विभिन्न स्टलहरू राखिएका थिए। स्टलहरूमा विद्यार्थीहरूले आफ्नै सिर्जनशीलता र प्रयोगात्मक ज्ञानमार्फत तयार गरेका वैज्ञानिक उपकरण, प्रविधि, मोडल तथा विभिन्न नवीन अवधारणाहरू प्रस्तुत गरेका थिए।
प्रदर्शनीका् अवलोकनका लागि छिमेकी ४ विद्यालयबाट समेत विद्यार्थी र शिक्षकहरु उपस्थित भएका थिए ।

कार्यक्रममा सहभागी अतिथि तथा सरोकारवालाहरूले विद्यार्थीहरूको प्रतिभा, मेहनत र सिर्जनशीलताको प्रशंसा गर्दै विद्यालय तहदेखि नै विज्ञान तथा प्रविधिको अभ्यासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए। यस्ता कार्यक्रमले विद्यार्थीहरूमा अनुसन्धान गर्ने बानीको विकास गर्नुका साथै व्यवहारिक ज्ञान र आत्मविश्वास बढाउन सहयोग पुग्ने धारणा व्यक्त गरिएको थियो।

विज्ञान प्रदर्शनीले सामुदायिक विद्यालयका विद्यार्थीहरूमा रहेको प्रतिभा उजागर गर्नुका साथै विज्ञान विषयलाई थप रुचिकर र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।


शेयर गर्नुहोस्

अन्य खबरहरु