काठमाडौं । राजधानी काठमाडौंस्थित विभिन्न सञ्चारमाध्यमका कार्यालयको गेटमा शङ्कास्पद रूपमा पार्किङ गरिएका सवारीसाधनबारे नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको छ। कान्तिपुर पब्लिकेशन, अनलाइनखबर र हिमालय टेलिभिजनको मूल गेटमा बेवारिसे शैलीमा छाडिएका सवारीसाधनलाई ट्राफिक प्रहरीले क्रेनको सहायताले हटाएर आवश्यक अनुसन्धान अघि बढाएको हो।
अनुसन्धानका क्रममा अनलाइनखबरको गेटमा पार्किङ गरिएको बा.१२ च ८५४५ नम्बरको कार सुनिल पौडेलको नाममा दर्ता रहेको खुलेको छ। यातायात व्यवस्था विभाग स्रोतका अनुसार उक्त सवारीधनीको ठेगाना काठमाडौं उल्लेख रहेको छ।
त्यसैगरी, कान्तिपुर पब्लिकेशनको गेटमा पार्किङ गरिएको बा।प्रदेश–०१–०३४ च ८४८० नम्बरको जिप सानीमा बैंकको नाममा दर्ता रहेको देखिएको प्रहरीले जनाएको छ। बैंकबाट ऋण सुविधामार्फत उक्त सवारी एसटी मोटर्स ले प्रयोग गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
यस्तै, हिमालय टेलिभिजनको गेटमा छाडिएको बा।१० च १२५५ नम्बरको कार डीआर अटो मोटिभ्स को नाममा दर्ता रहेको भेटिएको छ। यातायात व्यवस्था विभागका एक अधिकृतका अनुसार उक्त कम्पनीको ठेगाना धुम्बाराही, काठमाडौं रहेको छ।
यसैबीच, अनामनगरस्थित भाटभटेनी सुपरमार्केट अगाडि ०३३ च ४२७५ नम्बरको हुण्डाई क्रेटा पनि शङ्कास्पद ढंगले पार्किङ गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उक्त सवारीसाधनको वास्तविक धनीको पहिचान भने हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।
राजधानीका प्रमुख सञ्चारगृहको प्रवेशद्वारमै शङ्कास्पद अवस्थामा सवारीसाधन पार्किङ गरिएका घटना देखिएपछि सुरक्षा सतर्कता बढाइएको छ। घटनाको उद्देश्य, सवारीसाधन त्यहाँ किन र कसले छाडेको भन्ने विषयमा प्रहरीको अनुसन्धान जारी रहेको छ। अनुसन्धानबाट प्राप्त हुने तथ्यका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।





