उदयपुरमा जंगली हात्तीको आतंक, ६ घरमा क्षति

शेयर गर्नुहोस्

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–७ कुमाङ लामाचौर क्षेत्रमा जंगली हात्तीको समूह प्रवेश गर्दा स्थानीय बस्तीमा ठूलो क्षति पुगेको छ। गएराति गाउँ पसेको हात्तीले ६ वटा घर भत्काउनुका साथै स्थानीयको अन्नपातसमेत नष्ट गरेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार हात्तीले स्थानीय बुद्धिमान राई, राधा विक, रोशन विक, बमबहादुर विक, वीरबहादुर मगर र दिलबहादुर मगर लगायतका कर्कटपाताले छाएका काठका घरमा क्षति पुर्‍याएको हो।

हात्ती गाउँमा प्रवेश गरेपछि स्थानीयवासी ज्यान जोगाउन घर छाडेर भाग्न बाध्य भएका थिए। स्थानीय पुष्प राई का अनुसार रातभर त्रासपूर्ण अवस्था सिर्जना भएको थियो।

घरमा क्षति पुगेका परिवारलाई चौदण्डीगढी नगरपालिकाले अस्थायी रूपमा सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाएको जनाएको छ।

प्रहरीका अनुसार कोशीटप्पु क्षेत्रबाट आएको हात्तीको समूह हाल लामाचौर र ४५ चोक आसपासको जंगल क्षेत्रमा रहेको छ। स्थानीयको सुरक्षालाई ध्यानमा राख्दै प्रहरी टोली परिचालन गरिएको छ।

जंगली जनावरको बढ्दो प्रवेशसँगै स्थानीयवासीमा त्रास बढेको छ।


शेयर गर्नुहोस्

अन्य खबरहरु