काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको काठमाडौंको रातोपुलस्थित निवास अगाडि पनि शंकास्पद रूपमा एउटा सवारीसाधन पार्किङ गरिएको भेटिएको छ। राजधानीका विभिन्न सञ्चारगृह अगाडि यस्तै प्रकृतिका सवारीसाधन फेला परिरहेका बेला थापाको निवास अगाडि समेत गाडी राखिएको घटनाले स्थानीयमा चासो बढाएको छ।
स्थानीयका अनुसार बीएसी ९५७५ नम्बरको गाडी बिहान करिब ७ बजेदेखि निवास अगाडि पार्किङ गरिएको थियो। गाडी राखिएको कारण मोटरसाइकल समेत सहज रूपमा आवतजावत गर्न कठिन भएको उनीहरूको भनाइ छ।
घटनास्थलमा रहेका प्रत्यक्षदर्शीले चालकले गाडी पार्किङ गरेपछि नेपाल प्रहरीको भ्यानमा चढेर त्यहाँबाट गएको दाबी गरेका छन्। यद्यपि, उक्त दाबीबारे नेपाल प्रहरीले आधिकारिक पुष्टि गरिसकेको छैन।
हाल उक्त सवारीसाधन किन त्यहाँ पार्किङ गरिएको हो, चालकको वास्तविक उद्देश्य के थियो तथा प्रत्यक्षदर्शीले गरेको दाबीको सत्यता के हो भन्ने विषयमा सम्बन्धित निकायबाट आधिकारिक जानकारी सार्वजनिक भएको छैन।
यसअघि पनि राजधानीका केही सञ्चारगृहको प्रवेशद्वार अगाडि शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएका घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। पछिल्लोपटक गगन थापाको निवास अगाडि यस्तै प्रकृतिको घटना सार्वजनिक भएपछि सुरक्षा निकायको अनुसन्धान थप चासोका साथ हेरिएको छ।
शिखरपाटीले यस घटनासम्बन्धी आधिकारिक जानकारी प्राप्त हुनेबित्तिकै समाचार अद्यावधिक गर्नेछ।





