सोलुखुम्बु । सोलुदुधकुण्ड युथ क्लब र नेपाल डोरीतान संघ सोलुखुम्बुको संयुक्त आयोजनामा सम्पन्न जिल्ला स्तरीय डोरीतान प्रतियोगिताको उपाधि नेले टोलीले जितेको छ। जिल्लामै पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा विभिन्न क्षेत्रका ११ टोलीको सहभागिता रहेको थियो।

प्रतिस्पर्धात्मक खेलमा नेले प्रथम, गार्मा द्वितीय तथा नेपाल प्रहरी तृतीय हुन सफल भएका छन्। विजेता टोलीहरूले ट्रफी, मेडल र प्रमाणपत्रका साथ क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।

प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि गान्धीमाया तामाङ तथा नेपाल डोरीतान संघ, सोलुखुम्बुका अध्यक्ष राम संघर्ष किरातीले विजेता टोलीलाई ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो।

आयोजकका अनुसार प्रतियोगितामार्फत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई आगामी भदौ महिनामा कोशी प्रदेशमा आयोजना हुने प्रदेश स्तरीय डोरीतान प्रतियोगिताका लागि छनोटसमेत गरिएको छ।

जिल्लामा पहिलो पटक आयोजना गरिएको प्रतियोगिताले डोरीतान खेलप्रति युवाको आकर्षण बढाउनुका साथै खेलको विकास र नयाँ प्रतिभाको पहिचानमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकको विश्वास छ। प्रतियोगिता खेलाडी, खेलप्रेमी तथा स्थानीयवासीको उत्साहजनक उपस्थितिमा सम्पन्न भएको थियो।





