लिखुपिकेमा गुम्बा भवन निर्माण सुरु, भारतको ३ करोड ३० लाख सहयोग

शेयर गर्नुहोस्

सोलुखुम्बु — सोलुखुम्बुको लिखुपिके गाउँपालिका–३ नाम्खेलीस्थित ‘ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग’ गुम्बाको नयाँ भवन निर्माणका लागि बुधबार औपचारिक रूपमा शिलान्यास गरिएको छ।

लिखुपिके गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेत र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजयकुमार सिंहले संयुक्त रूपमा भवन निर्माणको शिलान्यास गर्नुभएको हो। विशेष समारोहबीच सम्पन्न शिलान्याससँगै गुम्बाको नयाँ भवन निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढेको हो।

भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना (High Impact Community Development Project) अन्तर्गत निर्माण हुन लागेको उक्त भवनका लागि भारत सरकारले करिब ३ करोड ३० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। परियोजनाको कार्यान्वयन भने लिखुपिके गाउँपालिकामार्फत गरिने जनाइएको छ।

यो परियोजना सोलुखुम्बु जिल्लामा सञ्चालनमा आएको छैटौँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो। कार्यक्रममा वक्ताहरूले नेपाल–भारतबीचको दीर्घकालीन मित्रता र विकास साझेदारीका कारण यस्ता सामुदायिक पूर्वाधार निर्माणका कार्यक्रम प्रभावकारी रूपमा अघि बढिरहेको बताएका थिए।

उनीहरूले यस्ता परियोजनाले दुई देशबीचको आपसी सम्बन्धलाई थप मजबुत बनाउनुका साथै स्थानीय स्तरमा विकासका अवसर विस्तार गरेको उल्लेख गरे।

नयाँ गुम्बा भवन निर्माणपछि लिखुपिके क्षेत्रको धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। साथै, स्थानीय समुदायलाई धार्मिक गतिविधि सञ्चालनका लागि आवश्यक पूर्वाधार उपलब्ध हुनुका साथै पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत स्थानीय आवश्यकता अनुसार भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइँदै आएको उल्लेख गर्दै नेपाल सरकारको समृद्धि र दिगो विकासको लक्ष्यमा भारत सरकारले निरन्तर सहयोग गर्दै आएको प्रतिबद्धता समेत दोहोर्याइएको थियो।


शेयर गर्नुहोस्

अन्य खबरहरु