पर्वत । मोदी गाउँपालिका वडा नम्बर ८ महकेस्थित लेते खोला ठाडो पाखा सामुदायिक वनबाट बेवारिसे अवस्थामा लुकाइ राखिएका आठ थान अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।
वन क्षेत्रमा अवैध हातहतियार लुकाइ राखिएको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उक्त क्षेत्रमा खोजतलास गर्ने क्रममा नाल र काठसहितका ८ थान भरुवा बन्दुक फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार बरामद भएका हातहतियारको आवश्यक मुचुल्का तयार गर्ने कार्य भइरहेको छ। ती हातहतियार कसले र किन त्यहाँ लुकाएको हो भन्ने विषयमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताइएको छ।
घटनापछि उक्त क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ। अवैध हातहतियार फेला परेपछि स्थानीयवासीसमेत चासोका साथ घटनालाई हेरिरहेका छन्।









