सोलुखुम्बु– सोलुदुधकुण्ड नगरपालिका वडा नं. ५ सल्लेरीको तीनकुने क्षेत्रबाट कारागार, गुम्बा क्षेत्र, जिमी राई उत्थान समाज, क्याम्पस लगायतका क्षेत्रमा सवारी साधन आवतजावतका लागि सडक खोल्ने कार्य सुरु भएको छ ।

बिगत लामो समयदेखि नेपाली सेनाले अधिग्रहनगरि उपभोग गर्दै आएको सो क्षेत्रमा नेपाल सरकारका रक्षा मन्त्री एवं सोलुखुम्बुबाट प्रतिनिधि सभा सदस्य निर्वाचित मानवीर राईको पहलमा सो बाटो संचालनका लागि सहमति भएको हो । स्थानियको मागलाई मध्यनजर गर्दै मन्त्री राईले पटक पटक नेपाली सेनाका प्रधानसेनापति तथा अन्य सम्बन्धित क्षेत्रमा सम्वाद गर्दै तत्कालै बाटो खोल्न प्रयास थालेका थिए ।
एम्बुलेन्स, जिप, मोटरसाईकल जस्ता हलुका सवारी साधन मात्र संचालनका लागि बाटो खोल्ने सहमतिमा रहेको भएपछि हाललाई स्थानियले जनश्रमदान गरि मान्छे हिन्नेबाटो खोलेका छन् ।

सो क्षेत्रमा पहिरो तथा जमिन भासिने समस्या समेत रहेकाले यसअघि बैकल्पिक रुपमा व्यक्तिगत जग्गाबाट सडक बनाई प्रयोगमा ल्याईएको थियो । तथापि सो सडक अबरुद्ध भएपश्चात हाल आवाडाँडाबाट तिनकुने हुँदै माथिल्लो क्षेत्र जाने बाटो खोलिएको हो ।
शिखर पाटीसँग जमिन नै कमसल र भासिने भएकाले डोजर तथा जेसिबी जस्ता हेभि गाडी प्रयोग नगरी स्थानियहरुबाट नै बाटो खोल्ने कार्य गरिएको स्थानिय रामसंघर्ष किराँतीले बताउनुभयो । उहाँका अनुसार सडकको पहुँचबाट बञ्चित भएका सल्लेरी माथिल्लो क्षेत्रका बासिन्दाहरुको सहभागितामा सडकको ट्रयाक खोल्न श्रमदान गरिएको हो ।

यस्तै, वडा नम्बर ५ का वडा अध्यक्ष मिङ्मार तामाङले लामो समयको प्रयास र पहलपछि बाटो खोल्न सफल भएको बताउनुभयो । साथै उहाँले यसमा कार्यमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।\

नगरपालिका क्षेत्रको एउटा महत्वपुर्ण बस्ती रहेको एवं जिल्ला अदालत, जिल्ला कारागार, सरकारी वकिल लगायतका कार्यालय, बिद्यालय, क्याम्पस तर्फ सवारी साधन आवतजावत गर्ने सडक नै नहुँदा समस्या झेल्दै आएका स्थानिय तथा सेवाग्राहीलाई सडकको ट्रयाक ओपनसँगै उत्साह छाएको छ ।

सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले सो सडक संचालनका लागि पटक पटकको पहल सफल भएको बताउनुभयो । उहाँले नेपाली सेनाले बाटोको लागि जग्गा उपलब्ध गराएसँगै सो सडक स्तरोन्नतीक लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने समेत बताउनुभयो ।

बाटो खुलेसँग सल्लेरी माथिल्लो क्षेत्रका करिव १३ सय घरधुरी लाभाम्वीत हुने छन् ।
