विश्व भलिबल दिवसको अवसरमा सल्लेरीमा मैत्रीपूर्ण छात्र भलिबल प्रतियोगिता सुरु, डोरीतान खेलाडी छनोट पनि हुँदै

शेयर गर्नुहोस्

सोलुखुम्बु । विश्व भलिबल दिवसको अवसर पारेर सोलुदुधकुण्ड युथ क्लब को आयोजनामा मैत्रीपूर्ण छात्र भलिबल प्रतियोगिता सुरु भएको छ। साथै, नेपाल डोरीतान संघ, सोलुखुम्बु को संयुक्त आयोजनामा कोशी प्रदेशमा सञ्चालन हुन लागेको प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउने जिल्ला स्तरीय डोरीतान खेलाडी छनोट कार्यक्रमसमेत सञ्चालन गरिएको छ।

प्रतियोगिताको उद्घाटन आज आयोजित एक विशेष समारोहबीच सोलुदुधकुण्ड नगरपालिकाकी उपप्रमुख गान्धीमाया तामाङ को प्रमुख आतिथ्यता, जिल्ला समन्वय अधिकारी चन्द्र सिंह श्रेष्ठ को विशेष आतिथ्यता तथा सोलुदुधकुण्ड युथ क्लबका अध्यक्ष क्षितिज तामाङ को सभापतित्वमा सम्पन्न भएको हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपप्रमुख गान्धीमाया तामाङ ले खेलकुदले युवामा अनुशासन, नेतृत्व क्षमता, आपसी सद्भाव र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने भएकाले स्थानीय तहले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आएको बताउनुभयो। उहाँले यस्ता प्रतियोगिताले जिल्लाका प्रतिभावान खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो।

विशेष अतिथि जिल्ला समन्वय अधिकारी चन्द्र सिंह श्रेष्ठ ले खेलकुदले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्नुका साथै युवाहरूलाई सिर्जनात्मक र अनुशासित बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। उहाँले यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिन सबै पक्षबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।

कार्यक्रमका सभापति तथा सोलुदुधकुण्ड युथ क्लबका अध्यक्ष क्षितिज तामाङ ले विश्व भलिबल दिवसलाई खेलकुदमार्फत उत्सवका रूपमा मनाउने उद्देश्यले मैत्रीपूर्ण छात्र भलिबल प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो। साथै, नेपाल डोरीतान संघसँगको सहकार्यमा कोशी प्रदेशस्तरीय प्रतियोगिताका लागि उत्कृष्ट जिल्ला स्तरीय खेलाडी छनोट गरिनु सोलुखुम्बुका खेलाडीका लागि महत्वपूर्ण अवसर भएको उहाँको भनाइ थियो।
कार्यक्रमका बीच १६ औँ राष्ट्रपति रनिङ् शिल्ड प्रयोगितमा सोलुखुम्बुको छात्रा भलिबल टिमबाट सहभागि भर्य कोशी प्रदेशबाट छनौँट भई केन्द्रिय रनिङ शिल्डमा सहभागि हुन सफल सोलु दुधकुण्ड नगरपालिका ७ गार्मा निवासी जुनु बस्नेतलाई दोसल्लाह र सम्मान पत्रबाट सम्मान गरिएको छ ।

कार्यक्रममा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, विभिन्न खेलकुद संघसंस्थाका पदाधिकारी, शिक्षक, विद्यार्थी, खेलप्रेमी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

भलिबल प्रतियोगितासँगै सञ्चालन गरिएको डोरीतान खेलाडी छनोट कार्यक्रमबाट उत्कृष्ट खेलाडीहरूलाई आगामी कोशी प्रदेश स्तरीय डोरीतान प्रतियोगिता मा सोलुखुम्बुको प्रतिनिधित्व गर्ने अवसर प्रदान गरिने आयोजकले जनाएको छ।

कार्यक्रमको सञ्चालन लोकप्रिय मिडिया को प्रायोजनमा गरिएको थियो। आयोजकका अनुसार यस्ता प्रतियोगिताले जिल्लामा खेल संस्कृतिको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा नयाँ प्रतिभाको पहिचानमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।


शेयर गर्नुहोस्

अन्य खबरहरु