सोलुखुम्बु– जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका २ हिमालय क्लब लुक्लाको आयोजनामा सोलुखुम्बु जिल्ला स्तरीय व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
क्लबको ३५ औं वार्षिकोत्सबको अवसरमा असार ७ गतेबाट सिङ्गल तथा डबल खेल संचालन भएको प्रतियोगिता आज सम्पन्न भएको हो ।
दुईदिन संचालन भएको प्रतियोगितामा सिंगलतर्फ संयोग बस्नेत प्रथम हुनुभएको छ । यस्तै सगुन कार्की द्दितिय, बुद्ध वीर तामाङ र विभुषण तामाङ तृतीय हुनुभएको जिल्ला ब्याडमिन्टन संघ सोलुखुम्बुका सचिव अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।
डबलतर्फ संयोग बस्नेत र सगुन कार्कीको जोडी प्रथम हुनुभएको छ । यसैगरी विभुषण तामाङ र नौवीर राईको जोडी द्दितिय हुनुभयो भने सुभम राई र कुमार सिं राई यस्तै बाबू राम मगर र बुद्धवीर तामाङको जोडीले तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।
प्रतियोगितामा सिंगलतर्फ १५ टिम र डबलतर्फ १० टिमको सहभागिता रहेको थियो । खेलमा सिङ्गल तर्फ प्रथम,दितिय, तृतीय हुने टिमलाई ३० हजार, १५ हजार र १० हजार नगद प्रदान गरिएको छ । यस्तै डबलतर्फ स्थान ओगट्ने टिमले ५० हजार, ३० हजार र १५ हजार रुपैयाँको साथमा ट्रफि र मेडल र प्रमाणपत्रको प्राप्त गरेका छन् ।
कार्यक्रम कोशी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री बुद्धि कुमार राजभण्डारीको प्रमुख आतिथ्यता एवं खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाको सभाध्यक्षमा सप्पन्न भएको हो ।