सोलुखुम्बु । विश्व भलिबल दिवसको अवसरमा सोलुदुधकुण्ड युथ क्लबको आयोजनामा मैत्रीपूर्ण छात्र भलिबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।
विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्दै अनुशासन, मित्रता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा सोलुदुधकुण्ड नगरपालिकाका पाँच वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो।

प्रतिस्पर्धात्मक खेलमा गार्मा माध्यमिक विद्यालय, गार्मा प्रथम, ह्वाइटहिल्स बोर्डिङ स्कुल द्वितीय तथा जनजागृति माध्यमिक विद्यालय तृतीय हुन सफल भएका छन्।

विजेता टोलीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताका विजेता टोलीलाई प्रमुख अतिथि सोलुदुधकुण्ड नगरपालिकाका उपप्रमुख गान्धीमाया तामाङ तथा सोलुदुधकुण्ड युथ क्लबका अध्यक्ष क्षितिज तामाङले संयुक्त रूपमा पुरस्कार वितरण गर्नुभएको थियो।

आयोजकका अनुसार यस्ता प्रतियोगिताले विद्यालय तहदेखि नै खेल संस्कृतिको विकास, विद्यार्थीबीच आपसी सद्भाव र प्रतिभा पहिचानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ। प्रतियोगिता खेलाडी, शिक्षक, अभिभावक तथा स्थानीयवासीको उल्लेखनीय उपस्थितिमा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।





