सोलुखुम्बु ः जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ७ देउसामा अवस्थित जालिम मेलामा करिव ५ हजार भक्तजनले दर्शन गर्न पूगेका छन् ।

जिल्लाको सदरमुकाम सल्लेरीदेखि करिब २४ किलोमिटरको दुरीमा रहेको प्रसिद्ध धार्मिक स्थल जालिमको दर्शनमा करिब ५ हजारजना पुगेको जालिम क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार राईले बताउनुभयो ।

जालिमको आफ्नै इतिहास र महिमा भएको भएपनि, विश्वव्यापी रुपमा फैलिएको काभिडका कारण केही समय मेला समान्यरुपमा मात्र लागेको र हाल सुधारभएपछि मेला लगाउन थालिएको अध्यक्ष राईले बताउनुभयो । उहाँका अनुसार मन्दिर क्षेत्रलाई व्यवस्थित बनाई दर्शनार्थीहरुलाई सहजरुपमा दर्शन गराउने र आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने लक्ष रहेको छ ।

वर्षमा बैशाखे पूर्णिमा र भदौरे (जनै) पूर्णिमा गरि दुई पटक मेला लाग्ने गरेको छ । मेलामा जिल्लाको महाकुलुङ, सोताङ, माप्यदुधकोशी, सल्लेरी, तामाखानी, लुक्ला, ऐसेलुखर्क लगाएत विभिन्न स्थानबाट धाँमीझाँक्री, दर्शनार्थीहरु आएको समितिका सचिव कुलप्रसाद राईले जानकारी दिनुभयो ।

मन्दिर क्षेत्रको विकास र संरक्षण संबर्धनका लागि स्थानिय तहले आर्थिक सहयोग गरिरहेको ७ नम्बर वडा अध्यक्ष तथा पालिका प्रवक्ता भोलराज कार्कीले बताउनुभयो । मेलामा हिन्दु, बौद्धमार्गी, किरातीहरु दर्शनमा पुग्ने गर्छन् ।









