मुजाङ चुचुरोमा पहिलो पटक मानव पाइला, बेयुलकाङ पिक नाम दिइयो

शेयर गर्नुहोस्

सोलुखुम्बु– सर्वाेच्च शिखर सगरमाथाको जिल्ला भनेर चिरपरिचित सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा रहेको मुजाङ चुचुरोको पहिलो पटक सफल आरोहन गरिएको छ ।

मेरापिक नजिक रहेको मुजाङ चुचुरोको नामले चिनिएको ५,७१० मिटर अग्लो पिक गएको अटम सिजनमा ५ आरोहीले प्रथम पटक मानव पाइला राखेका हुन् । र यो चुचुरोको नाम बेयुलकाङ नामाकरण गरेका छन् । आरोहण दलमा जर्मनी र नेपाली नागरिकहरु रहेका थिए ।

आरोहन दलमा महाकुलुङकै लामाबाबु शेर्पा, फुर्वा तेन्जी शेर्पा, नाम्गेल शेर्पा सहित जर्मनीका सिड जिम्मरम्यान, बेनेडिक्ट–सोनाम शुल्जे रहेका थिए । उनीहरुले गत नोभेम्बर १ को बिहान ७ बजे शिखर चुम्न सफल भएका हुन् । आठ जनाको सहभागी रहे पनि शिखरमा पुग्न ५ जना मात्रै सफल भएका थिए ।

उनीहरु ५ हजार मिटरको उचाइमा रहेको हाइक्याम्पबाट आइस र कडा चट्टान हरु छिचोल्दै छ घण्टाको लगाएर कडा मेहेनत पछि बेयुलकाङमा पहिलो पटक मानव पाइला राख्न यो टोली सफल भएका हुन् ।

यहाँबाट नौलेक पिक मेरापिक, सगरमाथा, चाम्लाङ, मकालु, कुम्भकर्ण, कञ्चनजङ्घा लगायत दर्जनौँ हिम चुचुरोहरु देख्न सकिन्छ । यो पिक अन्य पिक भन्दा केही प्राविधिक रुपमा जोखिमयुक्त रहेको आरोही नाम्गेल शेर्पाले बताउनुभयो ।

यो हिमाल मक्कालु–बरुण राष्ट्रिय निकुञ्जमा अवस्थित छ । नयाँ चुचुरो चुम्नका लागि भरिया, कुक र आधार शिविरका प्रबन्धकहरू सहित ३० जनाको टोली आधार शिविरतर्फ प्रस्थान गरेका थिए । बेयुलकाङको सफल आरोहणसंगै महाकुलुङको पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने पर्यटन व्यवसायी समेत रहेका आरोही नाम्गेल शेर्पाले बताउनुभयो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु