माप्य अध्यक्ष राईले गरे खेल पर्यटन प्रबर्द्धनका लागि आरोहण खेल संघसँग सम्झौता

शेयर गर्नुहोस्

सोलुखुम्बु– माप्यदुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धि किरण राईले निर्माणाधीन पर्यटकीय पूर्वाधारको प्रचार प्रसार तथा खेल पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यसहित नेपाल आरोहण खेल संघसँगसम्झौता गर्नुभएको छ ।

कृत्रिम वाल आरोहण(Wall Climbing), चट्टान आरोहण (Rock Climbing) र पाराक्लाइम्बिङ(Para Climbing) र आइस क्लाइम्बिङ(Ice Climbing) लगायत आरोहण खेलको बिकास, बिस्तार र बिश्व ब्यापीकरणका लागि महत्वपूर्ण योगदान गर्दै आएको सो संघसंग खेल र खेल पर्यटनको बिकास गर्ने उद्देश्यले सम्झौता गरिएको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले बताउनुभयो ।

सोमबार काठ्माडौंमा गरिएको द्विपक्षीय सम्झौतापत्रमा गाउँपालिकाको तर्फबाट राई स्वयं र संघको तर्फबाट महासचिव सन्तोष मादेनले हस्ताक्षर गर्नुभएको छ । सम्झौता पत्रमा संघले वर्षमा एक पटक माप्यदुधकोशी गाउँपालिकामा रक क्लाईम्बिङ प्रतियोगिता आयोजना गर्ने, रक क्लाईम्बिङ तालिम तथा महोत्सवको आयोजना गर्ने र सो प्रयोजनका लागि दुबै पक्षले आर्थिक साझेदारी गर्ने उल्लेख छ ।

गत पुसमा कीर्तिमानी आरोही कामीरिता शेर्पाद्धारा महभिरमा रक क्लाइम्बिङ सन्टेरको उद्घाटन गरिसकिएको छ । गाउँपालिकाको समृद्धि र पालिकाबासीहरुको आयश्रोतको माध्यम पर्यटन ब्यबसायलाई बनाउने अठोट सहित एभरेस्ट दुधकोशी सांस्कृतिक पदमार्ग निर्माणसंगै महभीरमा रक क्लाईम्बिङ सेण्टर स्थापना गरेका गाउँपालिका अध्यक्ष राईले रक क्लाईम्बिङ खेलको प्रबर्द्धनका लागि यो सम्झौता महत्त्वपूर्ण हुने बिश्वास व्यक्त गर्नुभयो । साथै उहाँले आगामी जुन महिनामा सो खेलको अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गर्न माप्यदुधकोशीले अनुमति पनि पाएको बताउनुभयो ।
साथै अध्यक्ष राईले आरोहण खेलको बिकास र पर्यटन प्रबर्द्धनमा यसले महत्वपूर्ण भूमिका निर्बाह गर्ने बताउंदै सम्झौतामा उल्लेखित कुराको पालनामा दृढ भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संघका महासचिव मादेनले आरोहण खेल नेपालको साहसी खेल भएको बताउंदै पछिल्लो समय यसले निकै लोकप्रियता हासिल गरेको बताउनुभयो । खेललाई पर्यटनसंग जोडेर लैजानुपर्ने सरकारको नीति रहेको बताउंदै माप्यमा पहिचान भएका चारवटा क्लाइम्बिङ रुटको बिकास गरेर अगाडी बढ्न सके यसले आरोहण खेलको बिकास र खेल पर्यटन प्रबर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने बताउनुभयो ।
माप्यदुधकोशीले पालिकाको सम्बृद्धिको लागि पर्यटनलाई मुख्य केन्द्रमा राखेर काम गरिरहेको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु