ऐसेलुखर्कमा बृहत २ दिने कृषि बाली प्रदर्शनी मेला सकियो

शेयर गर्नुहोस्

खोटाङ– खोटाङको ऐसेलुखर्क गाउँपालिका ३ मा बृहत २ दिने कृषि बाली प्रदर्शनी मेला सकिएको छ । ऐसेलुखर्क गाउँपालिकाको आयोजना, जी फाउन्डेशनको सहयोग तथा प्रयास नेपालको समन्वयमा सोमबार कार्यक्रम सकिएको हो ।

“ऐसेलुखर्कको समृद्धिको आधार, दिगो प्राङ्गारिक खेती हाम्रो पूर्वाधार भन्ने मुल नाराका साथ आईतबारबाट सुरु गरिएको बाली प्रदर्शनीमा २७ विधाका कृषि बालीहरुको प्रदर्शन गरिएको प्रयास नेपालका अध्यक्ष गुप्ती लक्ष्मी राईले जानकारी दिनुभयो । प्रदर्शनीमा प्रथम, द्वितीय र तृतीय स्थान ओगट्न सफल किसानहरुलाई विभिन्न कृषि सामाग्री र प्रमाण पत्रका साथमा सम्मान गरिएको थियो ।

कार्यक्रमका सभाध्यक्ष तथा पाउँपालिका प्रमुख गीेरेन्द्र बहादुर राईले कृषकहरुलाई व्यवसायीकता तर्फ उन्मुख गराउने ध्येयका साथ प्रदर्शनीको आयोजना गरिएको बतानुभयो । पालिका अधिकांस नागरिक कृषक भएको र बाली प्रदर्शनीले कृषकमा थप उत्साह मिलेको पनि बताउनु भयो । गाउँपालिका उपाध्यक्ष राजेश राजभण्डारीले पालिका सरकार सधैँ कृषकको साथ रहेको र पालिकालाई कृषिको माद्यमबाट समृद्ध बनाउनुमा आफहरु लागि रहेको बताउनुभयो । साथै उहाँले कृषकको कृषि उपज ढुवानी तथा बजारिकरणलाई ध्यानमा राखेर गाडीको व्यवस्था गरेको पनि बताउनुभयो ।

प्रयास नेपालका अध्यक्ष गुप्तिलक्ष्मी राईले निर्वाह मुखी कृषि पेसालाई त्यागेर व्यवसायिक कृषि प्रणालीमा अग्रसर हुन आग्रह गर्नुभयो । जसका लागि जी फाउन्डेशन र प्रयास नेपालले सहयोग गरेको बताउनुभयो ।
ऐसेलुखर्कको साप्ताहिक हटियामा आयोजना गरिएको प्रदर्शनी मेलामा १ सय ४१ जना कृषकहरुले कृषि उपज दर्ता गराएका थिए ।

कार्यक्रममा वडाध्यक्षहरुसहित वडाका जनप्रतिनिधिहरु, कार्यपालिका सदस्यहरू, पालिका तथा वडाका कर्मचारी, स्थानीय राजनीतिक दलका नेताहरू, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, स्थानीय शिक्षक, विद्यार्थी, कृषकहरु, सुरक्षाकर्मी लगायतका उपस्थिति रहेको थियोे ।


शेयर गर्नुहोस्

अन्य खबरहरु