सोताङको हुँगा खोलामा निर्माण गरिएको बेलिब्रिजको उद्घाटन

शेयर गर्नुहोस्

सोलुखुम्बु– जिल्लाको सोताङ गाउँपालिका ४ स्थित हुँगा खोलामा निर्माण गरिएको बेलिब्रिजको उद्घाटन गरिएको छ । गाउँपालिका र प्रदेश सरकारको संयुक्त लगानीमा निर्माण गरिएको पुलको गाउँपालिका अध्यक्ष खिलाराज बस्नेतले उद्घाटन् गर्नुभएको हो ।
कोशी प्रदेश सरकार र सोताङ गाउँपालिकाको समपुरक बजेट गरि करिब एक करोड २७ लाखको लागतमा निर्माण गरिएको हो । पुल निर्माणको माछा पुच्छे इन्जिनियरिङ कम्पनी प्रा.लि. पोखराले प्राप्त गरेको थियो ।

पुलको उद्घाटनको क्रममा पालिका अध्यक्ष बस्नेतले खुसि व्यक्त गर्दै, वडा नम्बर ४ र ५ का नागरिकलाई बधाई ज्ञापन गर्दै अव पालिकासँग सिधा सडक सञ्जाल जोडिएको बताउनुभयो । भौगोलिक विविधताले गर्दा नागरिकले निकै सास्ती खेप्दै आएको र अव पुल बनेपछि उक्त सास्ति खेप्नुपर्ने बाध्यताको अत्य भएको बताउनुभयो । साथै उहाँले गाउँपालिका सरकार वडाको विकासमा कटिबद्ध रहेको बताउनुभयो ।

वडा नम्बर ४ का वडा अध्यक्ष दिप राईले पालिकाको निरन्तरको प्रयासमा सफल भएको बताउनुभयो । साथै उहाँले जोखिम मोलेर खोलाबाट सवारी वारीपारी गर्नुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो ।

गत बैशाखमा निर्माण सम्झौता भएको उक्त पुल असार मसान्त भित्र सक्ने समय सिमा पाएको थियो । तर पुलको सामाग्रीहरु ढुवानी हुँदै गर्दा भारतको उडिसामा भएको भयानक रेल दुर्घटनाका कारण सामाग्रीहरु रोकिएपछि निर्माण कार्य प्रभावित भएको थियो ।

पूल निर्माण सम्पन्न भएपछि वडाका नागरिकहरुमा खुसी छाएको छ । उक्त पुल हुँदै नाम्लुङ, चित्रे, धोत्रे, दिम्बुल जोडिन्छ भने महाकुलुङको वडा नम्बर ४ र ५ का नागरिकलाई समेत सदरमुकाम लगाएतका स्थानमा जान सहज हुनेभएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु