अख्तियारले सिन्धुलीको कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलको घरमा छापा मारेको छ।
पुरानो सभाहल भत्काउँदा निस्किएको काठ हिनामिना गरेको उजुरीपछि अख्तियारले छानबिन थालेको हो।
अख्तियारको टोलीले मेयर पोखरेलसँग सोधपुछ गरेको छ, तर घरमा काठ फेला पारेको छैन।
अख्तियारको शाखा कार्यालय बर्दिबासबाट खटिएको टोलीले सिन्धुलीमाढीस्थित पोखरेलको घरमा गएर सोमबार छापा मारेको हो । अख्तियारको टोलीले उनीसँग सोधपुछ पनि गरेको छ ।
सिन्धुलीमाढीस्थित पुरानो सभाहल भत्काउँदा त्यहाँबाट निकालिएको सयौँ क्युफिट काठ हिनामिना गरेको उजुरी परेपछि आयोगले त्यसबारे छानबिन गरिरहेको छ । सभाहल भत्काउँदा नगर प्रहरी ब्यारेक पछाडि राखिएको काठ हिनामिना भएको बारेमा अख्तियारको टोलीले उनीसँग घरमा गएर सोधपुछ पनि गरेको हो ।
उनको घरमा छापा मार्दा काठ नभेटिएको अख्तियारका एक जना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृतले भने, ‘उहाँको घरमा काठ भेटिएन, हामी अनुसन्धान गर्दै छौँ ।’









