सोलुखुम्बु– जिल्लाको सोलु दुधकुण्ड नगरपालिका २ ले वडा भित्र रहेका आधारभूत तहको परीक्षा संचालनको लागि केन्द्र निर्धारण गरेको छ ।
परीक्षालाई मर्यादित र शिक्षामा गुणस्तरियता बुद्धि गर्ने उदेश्यले वडा भित्रका विद्यालयहरुको प्रथम त्रैमासिक परीक्षाको लागि परीक्षा केन्द्र निर्धारण गरि संचालन गर्न लागिएको वडा अध्यक्ष ङवाङ ठिले शेर्पाले बताउनुभयो ।
वडा अध्यक्ष शेर्पाका अनुसार भोलिबाट संचालन हुने पहिलो त्रैमासिक परिक्षाका लागि केन्द्राध्यक्ष समेत तोकिएको छ । यस परीक्षाका लागि वडाभित्र रहेका विद्यालयहरूलाई तीनवटा केन्द्रमा विभाजन गरि आवश्यक तयारी पूरा भईसकेको जुनवेशी मा. वि. का प्रधानाध्यपक कुमार राउतले बताउनु भयो ।
भोलि साउन २२ गतेबाट संचालन हुने परिक्षाको केन्द्रहरु जुनवेशी मा. वि. केन्द्रमा जुनबेसी मावि र हिमालयन शेर्पा बुद्धिस्ट आ.वि., बेनी केन्द्रमा नमो बुद्ध आ.वि. फेरा र श्री सेती देवी आ.वि. र शालाबेशी केन्द्र शालावेशी आ.वि. (बेनी आ.वि.) र बुद्घ एकेडेमी तुम्बुकका विद्यार्थीहरू सहभागी हुने छन् ।
यस्तै, परीक्षा सञ्चालनलाई थप प्रभावकारी बनाउन जुनबेसी माविका प्रधानाध्यापक कुमार राउतको संयोजकत्वमा ६ सदस्यीय परीक्षा अनुगमन समिति समेत गठन गरिएको छ । परीक्षाका लागि आवश्यक प्रश्नपत्रहरू वडा अध्यक्ष ङवाङ ठिले शेर्पाको विशेष पहलमा हिमालयन ट्रस्ट नेपालले निर्माण गरेको छ । परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थीहरूको लागि चिया तथा खाजाको समेत व्यवस्था वडा अध्यक्ष शेर्पाले गर्नु भएको छ ।









