सोलुखुम्बु – थुलुङ दुधकोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट क्यालेण्डर निर्माण गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा मंगलबार बसेको कार्यपालिका बैठकले उक्त बजेट क्यालेण्डर निर्माण गरेको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

बजेट क्यालेण्डर अनुसार जेठ ३० गते राजस्व परामर्श समितिको बैठक बस्ने छ भने स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक १ गते, विषयगत समितिको बैठक असार १ गते र असार २, ३ र ४ गते बस्ती/टोल स्तरबाट योजना छनौट गर्ने निर्णय गरिएको छ ।
यस्तै वडा स्तरीय योजना प्राथमिकिकरण असार ५¸ ६ र ७ गते गरिने र असार ९ गते एकीकृत बजेट नीति तथा कार्यक्रम तर्जुमा अनि सोही दिन कार्यपालिका बैठक बस्ने छ । असार १० गते गाउँसभा हुने गाउँपालिका प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।
सोही कार्यपालिका बैठकमा आवधिक विकास योजना २००८२/०८३-०८६/०८७ को मस्यौदा प्रतिवेदन माथी छलफल समेत गरिएको छ ।
 
								

 
								






 
         
         
         
        