सोलुखुम्बु । कोशी प्रदेश अन्तर्गत विराट कोशी जुडो सङ्घले आयोजना गरेको जुडो प्रतियोगितामा सोलुखुम्बुले ५ वटा गोल्ड मेडल प्राप्त गरेको छ । विराटनगर सहिद रङ्गशालामा यही ज्येष्ठ २६ र २७ गते सञ्चालन भएको प्रदेश स्तरीय जुडो प्रतियोगितामा जिल्लाले ५ वटा गोल्ड मेडल प्राप्त गरेको हो ।

सोलुखुम्बुबाट प्रदेश स्तरीय जुडो प्रतियोगितामा ५ जना सहभागी भएका मध्ये सबै खेलाडीहरूले स्वर्णपदक प्राप्त गरेको जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुका अध्यक्ष नरेन्द्र थापा मगरले जानकारी दिनुभयो ।
पेम्बा दोर्जी शेर्पा, विनोद नेपाली, नवीन तामाङ, समीता नेपाली, विनीता नेपालीले स्वर्णपदक प्राप्त गरेको टिम म्यानेजर एवं सोलुखुम्बु जिल्ला जुडो सङ्घका अध्यक्ष पासाङ तेम्बा शेर्पाले जानकारी दिनुभयो ।
गत वर्ष धरानमा सम्पन्न नवौँ राष्ट्रिय प्रदेश स्तरीय जुडो प्रतियोगितामा सोलुखुम्बुले ४ वटा पदक प्राप्त गरेको थियो । जसमा २ वटा स्वर्णपदक र १ वटा रजत र १ कास्य प्राप्त गरेको अध्यक्ष मगरले जानकारी दिनुभयो
 
								

 
								






 
         
         
         
        