काठमाडौं । विहीबारबाट बंगलादेशको ढाकामा सुरु हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१९ महिला च्याम्पियनसिपका लागि प्रस्थान गरेकी फिफा सहायक रेफ्री राधिका शाक्य विमानस्थलबाट घर फर्कन बाध्य भएकी छिन् ।
बुधबार राष्ट्रिय टोलीसँगै विमानस्थल पुगेकी शाक्य घर फर्किन बाध्य भएकी हुन् । अखिल नेपाल फुटबल संघ(एन्फा)ले आइतबार राष्ट्रिय टोलीसँगै रेफ्री फिफा रेफ्री अन्जना राई र शाक्यलाई बिदाई गरेको थियो ।
मंगलबार अन्तिम समयमा एन्फाले शाक्यको नाम काटिदिएको बुझिन्छ । साफ च्याम्पियनसिप जस्तो ठूलो अवसरका लागि तयार रहेकी शाक्य हातमा नियुक्ति पत्र, भिसा र टिकट हुनका बावजुद अध्यक्ष पंकजबिक्रम नेम्वाङलाई जवाफ फर्काएकी कारण प्रतियोगितामा सहभागी हुन पाइनन् ।
‘विमानस्थलमा आएर बल्ल थाहाँ पाएँ । कारणहरु त्यस्तो केही पनि छैन । तर, पनि केही खबर नै नगरीकन मेरो नाम काटिएको रहेछ, ’ घटनापछि शाक्यले दखित हुँदै पिडा पोखिन्, ‘यस्तो पनि हुँदो रहेछ । मेरो त्यत्रो मिहिनेत खेरा गयो । स्थानीय भए त केही फरक पर्दैन थियो । तर, अन्तर्राष्ट्रिय अवसर गुमाउनु पर्याे ।’
शाक्यले यस्तो परिस्थिति आउने सोचेकी पनि थिइनन् । तर, घटनापछि भने बुधबार एन्फा अध्यक्षसँग परेको जवाफ सम्झेको बताइन् । ‘बुधबार विदाई कार्यक्रमको समापनपछि म तल गएको थिएँ । सबै खेलाडी र अफिसियलहरु भने फोटो खिचेर बसिरहेका थिए । पछि म, इन्दु (दुवाल) र अन्जना कुरा गरिरहको बेला अध्यक्ष आएर आक्रोशित मुद्रामा तँ नबोल भन्नुभयो,’ शाक्यले घटना सुनाइन्, ‘ अध्यक्षको यस्तो शब्दपछि मैले पनि म किन नबोल्ने भनेर जवाफ फर्काएको हो ।’
एन्फा आन्तरिक विवाद र नेतृत्वका कारण बिमानस्थलबाट फर्कन परेको घटना भने पहिलो हैन । यसअघि उपाध्यक्ष विराटजंग शाही पनि विमानस्थलबाट फर्कन परेको थियो । घर परिवारबाट बिदाई पछि विमानस्थल पुगेका उनको स्थानमा अध्यक्ष नेम्वाङले मणिराज विष्टलाई फिफाको कार्यक्रममा सहभागी गराएका थिए ।
प्रतियोगितामा सहभागी हुन ३१ सदस्यीय नेपाली टोली ढाका प्रस्थान गरेको छ । सारा बज्राचार्यको कप्तानीमा नेपालले भारत, बंगलादेश र भुटानसँग खेल्नेछ ।स्रोत खेल खबर।