माप्यमा ऐतिहासिक ‘रक क्लाइम्भिङ सेन्टर’ उद्घाटन

शेयर गर्नुहोस्

सोलुखुम्बु – सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका ५ स्थित महभिरमा निर्माण गरिएको ‘रक क्लाइम्भिङ सेन्टर’को उद्घाटन गरिएको छ । गाउँपालिकाले निर्माण गरेको करिब १२० मिटर अग्लो ‘रक क्लाइम्भिङ सेन्टर’को आईतबार एक समारोहका बिच उद्घाटन गरिएको हो । सो सेन्टरको प्रदेश सांसद बुद्धि कुमार राजभण्डारी, गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, उपाध्यक्ष गौरव राई, टानका अध्यक्ष निलहरी बास्तोला, विश्वविख्यात पर्वातारोही कामीरिता शेर्पा लगायतले उद्घाटन गरेका हुन् ।

उद्घाटनको अवसरमा १२० मिटरको उचाईबाट ¥यापलिङ गर्नुका साथै रक क्लाइम्भिङका थुप्रै नमुनाहरु प्रर्दशन गरिएको छ । कार्यक्रममा बोल्दै प्रदेश सांसद एवं पुर्वमन्त्री बुद्धि कुमार राजभण्डारीले माप्यदुधकोशीले पर्यटनको क्षेत्रमा ठुलो फड्को मार्न सफल भएको बताउनुभयो ।

वर्षौदेखि उपयोग विहिन भीरलाई सदुपयोग गर्दै गाउँपालिकाले सुरु गरेको रक क्लाइम्भिङले सहासिक पर्यटनको अर्को ढोका खुलेको उहाँको भनाई छ । गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले आफुले प्रकृतिक सम्पदालाई भरपुर सदुपयोग गरि गाउँको विकास गर्न खोजेको बताउनुभयो ।

उपयोग विहिन भिरलाई सदुपयोग गर्ने आफ्नो वर्षौदेखिको सपना साकार भएकाले पर्यटन क्षेत्रमा माप्य अघि बढेको बताउनुभयो । ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल(टान)का अध्यक्ष निलहरी बास्तोलाले पर्यटकीय जिल्ला सोलुखुम्बुको माप्यदुधकोशीले पर्यटन क्षेत्रको पहिचान गर्न सफल भएको भन्दै प्रसंशा गर्नुभयो । माप्यले सुरु गरेको पर्यटन क्षेत्रहरुको फाईदा पालिकाले मात्रै नभई जिल्ला र देशले नै लिने वातावरण गाउँपालिकाले सृजना गरेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

हरेक स्थानीय सरकारले यसरी नै पर्यटन क्षेत्रको संरक्षण र पहिचान गर्न सके मुलुक समृद्धिको दिसातर्फ अघि बढ्ने उहाँको भनाई छ । विश्व कीर्तिमानी सगरमाथा आरोही कामीरिता शेर्पाले पर्यटकलाई लुकेर रहेका प्राकृतिक तथा ऐतिहासिक कुराहरु देखाउन सके पर्यटन क्षेत्रको विकास सहजरूपमा गर्न सकिने बताउनुभयो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु