सोलुदुधकुण्ड नगरशिक्षा समितिको निर्णयप्रति पेशागत शिक्षक संघसंगठनहरुको आपत्ति

शेयर गर्नुहोस्

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले गरेको शिक्षकहरुको सरुवा निर्णय विरुद्ध शिक्षकको पेशागत संगठनहरुले आपत्ति जनाएका छन् । नगरपालिकाको शिक्षा समितिले गत बुधबार गरेको प्रधानाध्यापक, लगाएत शिक्षकको व्यवस्थापन तथा सरुवाप्रति पेशागत संघसंगठनहरुले आज शनिबार संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै खेद प्रकट गरेका छन् ।

नगरपलिका भित्रका ३५ जना शिक्षकहरुलाई दरबन्दी मिलान तथा व्यवस्थापनको बहाना गरी व्यक्तिगत स्वार्थ तथा चरमपूर्वाग्रह राखी शिक्षा नियमावली र नगरपालिकाको राजपत्रविपरीत जथाभावी मनोमानी ढंगले सरुवा गरेको उनीहरुको ठहर छ । विद्यालय व्यवस्थापन समिति, स्वयम् प्रअ र पेसागत शिक्षक संघ, संगठन र महासंघको सल्लाह परामर्श एवं नेपाल शिक्षक महासंघले देशव्यापी रुपमा गरेको शैक्षिक आन्दोलनको क्रममा भएको सहमती विपरित उक्त कार्य भएको भन्दै शिक्षक महासंघ सोलुखुम्बु र जिल्लामा क्रियाशील पेसागत घटकहरुको गम्भीर ध्यानाकर्षण जनाइएको छ ।

शिक्षकहरु माथी गैरकानुनी ढंगबाट प्रतिसोध साद्ने कार्य भएको भन्दै उक्त निर्णय विरुद्ध कानुनी उपचारमा जाने समेत विज्ञप्ति मार्फत चेतावनी दिइएको छ । नेपाल शिक्षक महासंघका अध्यक्ष लाल प्रसाद बास्तोलाद्वारा हस्ताक्षरित विज्ञप्तिमा जिल्ला स्थित नेपाल शिक्षक संघका अध्यक्ष मदन कुमार राई, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष टंक दाहाल र अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष तिलक राईले हस्ताक्षर गर्दै ऐक्यबद्धता जनाएका छन् ।

नगर शिक्षा समितिको सो निर्णयले शिक्षकहरुको मनोबल गिर्नुका साथै शैक्षिक सत्रको मध्य समय भएकाले विद्यार्थीको पठनपाठनमा समेत असर गर्ने बताइएको छ ।

नगरपालिकाले भने शिक्षकहरुलाई पूर्वाग्रह तथा प्रतिसोधले नभई शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकहरुलाई एक विद्यालयबाट अर्को विद्यालयमा सुरुवा गरेको जनाएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु