नव नियुक्त रक्षामन्त्री राईद्धारा जंगी अड्डाको निरीक्षण

शेयर गर्नुहोस्

काठमाडौं– नव नियुक्त रक्षामन्त्री मानवीर राईले सैनिक मुख्यालय जंगी अड्डाको निरीक्षण गर्नुभएको छ । निरिक्षणको क्रममा मन्त्री राईले राष्ट्र सेवाप्रति अविचलित समर्पणका क्रममा नेपाली सेनाले देखाएको दृढता सधैँ प्रशंसनीय रहेको बताउनुभयो ।

सोलुखुम्बुबाट निर्वाचित राईले रक्षामन्त्रालयको जिम्मा सम्हालेपछि पहिलो पटक निरिक्षण गर्नुभएको हो । उहाँले संविधानप्रदत्त जिम्मेवारी एवं अन्य चुनौतीपूर्ण कार्य निर्वाह गर्न भविष्यमा पनि सेना सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

रक्षामन्त्री राईले नेपाली सेनाको समग्र क्षमता अभिवृद्धि तथा संगठनात्मक सुदृढीकरणमा रक्षा मन्त्रालयको सदैव सकारात्मक भूमिका रहने बताउनुभयो । साथै, उच्च हौसलासहित कर्तव्यपथमा समर्पित भई काम गर्नपनि आग्रह गर्नुभयो ।

रक्षा सचिव रामेश्वर दंगालले सेनालाई आवश्यक पर्ने नीतिगत, प्रक्रियागत, बजेटलगायत विषयमा सहयोग एवम् सहजिकरणको लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए ।

सो अवसरमा कायममुकायम प्रधान सेनापति रथी अशोकराज सिग्देलले सेनाका मूल्य र मान्यतालाई अझ मजबुत र संस्थागत गर्नेतर्फ आफ्नो निरन्तर पहल रहने बताए।

उनले भने, ‘सेनाको कार्यजिम्मेवारी क्षमता थप अभिवृद्धि गर्न मन्त्रालयबाट प्राप्त साथ, सहयोगप्रति आभारी छौँ ।’

त्यसअवसरमा रथीवृन्दका साथै रक्षा मन्त्रालय र नेपाली सेनाका अधिकृत सहभागी थिए।


शेयर गर्नुहोस्

अन्य खबरहरु